अन्तर्राष्ट्रिय

ट्रम्पको ४८ घण्टे चेतावनीपछि इरानले भन्यो : तिम्रा लागि नर्कको ढोका खुल्नेछ

२२ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको चेतावनीपछि इरानले कडा प्रतिक्रिया जनाएको छ । ट्रम्पले शनिबार इरानलाई सम्झौता गर्न र होर्मुज जलमार्ग खोल्न ४८ घण्टे चेतावनीनी दिएका थिए ।

ट्रम्पले अब ४८ घण्टा मात्र बाँकी छ, नत्र गम्भीर परिणाम भोग्नुपर्नेछ, भनेका थिए । यसको जवाफमा इरानको खातम अल-अनबिया सेन्ट्रल हेडक्वार्टरले कडा सन्देश दिएको हो । मुख्यालयका कमाण्डर मेजर जनरल अली अब्दुल्लाहीले अमेरिकी आक्रमण भएमा त्यससँग सम्बन्धित सबै संरचना र इजरायलसँग जोडिएका पूर्वाधारमा लगातार हमला गर्ने चेतावनी दिएका छन् ।

उनले भने, यदि आक्रमण भयो भने, हामीले भनेका सबै कुरा कार्यान्वयन गर्नेछौँ । यसको अर्थ स्पष्ट छ– तिमीहरूका लागि नर्कको ढोका खुल्नेछन् ।

यसैबीच, मुख्यालयका प्रवक्ता कर्नल इब्राहिम जुल्फकारीले पनि भिडियो सन्देश जारी गर्दै यदि तनाव बढ्यो भने सम्पूर्ण क्षेत्र अस्थिर बन्न सक्ने चेतावनी दिएका छन् । उनले इरानलाई कमजोर ठान्नु ठूलो भ्रम हुने र त्यसले विपक्षीहरूलाई गम्भीर परिणाममा पुर्‍याउन सक्ने बताएका छन् ।

यो घटनाले अमेरिका–इरानबीचको तनाव अझ बढ्ने संकेत देखिएको छ, जसले मध्यपूर्व क्षेत्रमा थप अस्थिरता निम्त्याउन सक्ने विश्लेषण गरिएको छ ।