समाचार

राष्ट्रिय योजना आयोगमा ६ नयाँ सदस्य नियुक्त

२६ चैत, काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगमा ६ जना नयाँ सदस्य नियुक्त गरेको छ। नियुक्त सदस्यहरूमा अर्जुनजंग थापा, प्रा. डा. सञ्जय आचार्य, डा. देवेन्द्र गौचन, रेशु अर्याल, प्रा. डा. सुदन झा र डा. पुकार मल्ल परेका छन्। अर्जुनजंग थापा भौतिक मन्त्रालयका पूर्वसचिव हुन् भने प्रा. डा. सञ्जय आचार्य त्रिभुवन विश्वविद्यालयका अर्थशास्त्र प्राध्यापक हुन्।

डा. देवेन्द्र गौचन ‘इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज’ (आईआईडीएस) का सिनियर फेलो हुन्। रेशु अर्याल शिक्षाविद् हुन् र उनी यसअघि बालेन शाह काठमाडौं महानगरका मेयर रहँदा सल्लाकारको भूमिकामा थिए। प्रा. डा. सुदन झा काठमाडौं विश्वविद्यालयका कम्प्युटर साइन्स एन्ड इन्जिनियरिङ प्राध्यापक हुन् भने डा. पुकार मल्ल गभर्नेन्स ल्याबका सहसंस्थापक तथा अध्यक्ष हुन् र नेपाल लिडरसिप एकेडेमीका कार्यकारी कोच पनि हुन्।

यसअघि सरकारले योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्टलाई नियुक्त गरेको थियो। नयाँ नियुक्त सदस्यहरूले आयोगमा नीति निर्माण, विकास योजना र अनुसन्धान कार्यमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।