२७ चैत, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा ले पार्टीका वरिष्ठ नेता अर्जुननरसिंह केसी लाई “राजनेता बन्न” सुझाव दिएका छन्।
पोखरामा आयोजित पार्टीको गण्डकी प्रदेश समीक्षा बैठकलाई सम्बोधन गर्दै शर्माले केसीलाई केवल संसदीय दलको नेतामा सीमित नभई सबै दलको साझा अभिभावकका रूपमा स्थापित हुनुपर्ने धारणा राखे।
उनले भने, “उहाँले कांग्रेस संसदीय दलको नेता बन्न चाहनुहुन्छ भने हामीलाई अस्वीकार गर्न गाह्रो हुन्छ। तर हाम्रो अपेक्षा उहाँ नेताको पदबाट माथि उठेर राजनेता बन्ने मार्ग अपनाउनुपर्छ भन्ने हो।”
शर्माले केसीलाई २०४८ सालदेखि संसद्को अनुभवी, ज्येष्ठ र योग्य व्यक्तित्वका रूपमा चित्रण गर्दै उनको भूमिका दलगत सीमाभन्दा माथि देख्न चाहेको बताए।
उनका अनुसार संसदीय दलको नेता चयन प्रक्रियालाई सर्वसम्मत बनाउन प्रयास भइरहेको छ। यदि सहमति नजुटे निर्वाचनमार्फत नयाँ वर्षमा नेतृत्व चयन हुने सम्भावना रहेको पनि उनले बताए।
यस अभिव्यक्तिले नेपाली कांग्रेसभित्र नेतृत्व चयन र आन्तरिक समीकरणबारे नयाँ बहस सुरु गरेको छ।





