२७ चैत, काठमाडौ । नवनिर्वाचित प्रतिनिधिसभाकी उपसभामुख रुबीकुमारी ठाकुरले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन्।
राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा सभामुख डोल प्रसाद अर्यालले उनलाई शपथ गराएका हुन्। समारोहमा उपराष्ट्रपति रामसाहय प्रसाद यादव, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल, प्रधानमन्त्री बालेन्द्र शाह लगायत उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति रहेको थियो।
शुक्रबार सम्पन्न निर्वाचनमा ठाकुरले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की उम्मेदवार सरस्वती लामालाई पराजित गर्दै उपसभामुख पदमा निर्वाचित भएकी हुन्।
उनी यसअघि श्रम संस्कृति पार्टीबाट प्रतिनिधिसभामा निर्वाचित भएकी थिइन्। उपसभामुख निर्वाचनमा उनलाई श्रम संस्कृति पार्टीसँगै सत्तारुढ दलहरू-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस र नेकपाको समर्थन प्राप्त भएको थियो।
राप्रपाले भने एकल प्रतिस्पर्धा गरेको थियो भने नेकपा एमालेले यस निर्वाचनमा भाग लिएको थिएन।
नवनिर्वाचित उपसभामुख ठाकुरको शपथसँगै प्रतिनिधिसभाको नेतृत्व संरचना पूर्ण भएको छ।





