समाचार

प्रिय उपसभामुखज्यू, कसैलाई बहिनी भनेर सम्बोधन गर्न नदिनुहोस् : सुमना श्रेष्ठ

२८ चैत, काठमाडौं । पूर्वशिक्षा मन्त्री सुमना श्रेष्ठले संसदभित्र प्रयोग हुने सम्बोधनको भाषामाथि प्रश्न उठाउँदै लैङ्गिक समानताको पक्षमा बोलेकी छन्।

सांसद हर्क साम्पाङलाई धन्यवाद दिँदै उनले औपचारिक वातावरणमा महिला सांसदलाई बहिनी वा चेली जस्ता पारिवारिक शब्द प्रयोग गरेर सम्बोधन गर्नु उचित नभएको बताएकी हुन्।

उनले अघिल्लो अधिवेशनमा चेली शब्द प्रयोग भएको र यस पटक बहिनी भनेर सम्बोधन गरिएको उल्लेख गरिन्। यसअघि यस्ता शब्दको निहितार्थ नबुझेका पुरुष सांसदहरूबीच यस पटक भने एक पुरुष सांसदले यस विषयमा बोलेकोमा उनले धन्यवाद व्यक्त गरेकी छन्।

धन्यवाद सांसद हर्क ज्यू ! अघिल्लो अधिवेशनमा चेली, यस पटक बहिनी ! अघिल्लो अधिवेशनमा कुनै पुरुष सांसदले चेली शब्दको निहितार्थ बुझ्न सकेनन्, तर यस पटक एउटा पुरुष सांसदले बोले ! उनले सामाजिक सञ्जालमा लेखिन्।

उनले चेली र बहिनी शब्द आफैँमा अपमानजनक नभए पनि औपचारिक संसद् बैठकमा पुरुषलाई माननीय सांसदज्यू भनेर सम्बोधन गरिँदा महिलालाई फरक शैलीमा सम्बोधन गर्नु असमान व्यवहारको संकेत भएको बताइन्। यसो भनिरहँदा महपलालाई बराबरीका रूपमा नहेरी पारिवारिक शब्दमा बाँधेर सीमित गर्न खोजिरहेको आरोप लगाएकी छन्।

त्यहाँ उपस्थित सबै जना सांसद हुन् ! चेलीर बहिनी आफ्नै ठाउँमा अपमानजनक शब्द होइनन्। तर जब औपचारिक वातावरणमा पुरुषलाई माननीय सांसदज्यू भनिन्छ र महिलालाई बहिनी भनेर सम्बोधन गरिन्छ, त्यो एक अर्थमा स्मरण गराउने प्रयास हो – कि हामी तपाईंलाई बराबरीका रूपमा हेर्दैनौं, तपाईंलाई पारिवारिक शब्दमा बाँधेर सीमित गर्न खोजिरहेका छौं, उनले भनिन्।

सुमनाले उपसभामुखलाई पनि यस्तो सम्बोधन स्वीकार नगर्न आग्रह गर्दै सबैलाई समान रूपमा माननीय भन्ने संस्कार विकास गर्नुपर्नेमा जोड दिएकी छन्। उनले उपसभामुख पदको गरिमा व्यक्तिको उमेर वा सम्बन्धभन्दा माथि हुने भन्दै औपचारिक सम्बोधनमा समानता अनिवार्य रहेको उल्लेख गरिन्।

प्रिय उपसभामुखज्यू, तपाईं संसदको पूर्ण बैठकमा हुनुहोस् वा कार्यालयमा अनौपचारिक छलफलमा-कसैलाई तपाईंलाई बहिनी भनेर सम्बोधन गर्न नदिनुहोस्, जब उनीहरू एकअर्कालाई माननीयज्यूु भन्छन्, उनले भनिन्, तपाईं हाम्रो उपसभामुख हुनुहुन्छ, संयोगवश तपाईं सबैभन्दा कान्छी हुनुहुन्छ, बस् त्यत्ति मात्र। समान सम्मानको सिमाना भाषाबाट नै सुरु हुन्छ-हामीले सम्बोधनमा समानता ल्याउन सकेनौं भने व्यवहारमा समानता कसरी सम्भव हुन्छ ।