२८ चैत, काठमाडौं । नेकपा संयुक्तले पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनलाई अपूर्ण र पूर्वाग्रही भएको आरोप लगाएको छ।
शनिबार बसेको पार्टीको महाधिवेशन आयोजक समिति बैठकले उक्त प्रतिवेदनप्रति असन्तुष्टि जनाउँदै नयाँ शक्तिशाली छानबिन आयोग गठन गर्न माग गरेको हो। पार्टीका कार्यवाहक अध्यक्ष घनश्याम भुसाल द्वारा जारी विज्ञप्तिमा भदौ २३ र २४ गतेका घटनाबारे निष्पक्ष छानबिनका लागि बहालवाला न्यायाधीशको अध्यक्षतामा नयाँ आयोग गठन गर्नुपर्ने उल्लेख गरिएको छ।
विज्ञप्तिअनुसार, बैठकले कार्की आयोगको प्रतिवेदनले घटनाको यथार्थ चित्रण गर्न नसकेको ठहर गर्दै त्यसलाई अपूर्ण र पूर्वाग्रही भनेको हो। साथै, ती घटनामा संलग्न दोषीहरूलाई कारबाही गर्न पनि जोडदार माग गरिएको छ।
त्यस्तै, बैठकले २०४८ सालदेखि हालसम्मका उच्चपदस्थ कर्मचारी, राजनीतिक व्यक्तित्व, न्यायपालिकाका पदाधिकारी तथा सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग समेत अघि सारेको छ।
पार्टीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषय समेट्दै ११ बुँदे निर्णय सार्वजनिक गरेको जनाएको छ।







