२८ चैत, काठमाडौं । पाकिस्तानको राजधानी इस्लामावाद मा अमेरिका र इरानबीच ऐतिहासिक शान्तिवार्ता सुरु भएको छ। पाकिस्तानको मध्यस्थतामा भइरहेको यो वार्ता सन् १९७९ को इरानी इस्लामिक क्रान्ति पछि पहिलोपटक उच्चस्तरीय प्रत्यक्ष संवाद मानिएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार शनिबार दिउँसोदेखि तीन देशका प्रतिनिधिहरू प्रत्यक्ष वार्तामा सहभागी भएका छन्। वार्ता इस्लामावादस्थित पाँचतारे सेरेना होटल इस्लामावाद मा भइरहेको छ।
अमेरिकाको तर्फबाट उपराष्ट्रपति जेडी भान्स ले वार्ताको संयोजन गरिरहेका छन्। उनीसँगै पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प का विशेष दूत स्टिभ विटकफ र ज्वाइँ जारेड कुसनर सहितको टोली सहभागी छ।
इरानका तर्फबाट संसद्का सभामुख मोहम्मद बगेर गालीबाफ ले नेतृत्व गरेका छन् भने विदेशमन्त्री अब्बास अराघची पनि टोलीमा छन्।
वार्ता सुरु हुनुअघि पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ ले दुवै पक्षसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए। पाकिस्तान सरकारका अनुसार यो बहुप्रतिक्षित वार्ता क्षेत्रीय स्थिरता र द्विपक्षीय सम्बन्ध सुधारका लागि महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
विश्लेषकहरूका अनुसार यो संवादले दशकौँदेखि तनावपूर्ण रहेका अमेरिका–इरान सम्बन्धमा नयाँ मोड ल्याउन सक्छ।




