राजनीति

चन्द्र भण्डारी भन्छन् : नेपालमा सत्ताको कसी कठिन छ

२९ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नेपालमा सत्ताको कसी कठिन अवस्थामा रहेको बताएका छन्।

लोभी, ईर्ष्यालु र साँघुरो सोच भएका नेताका लागि सत्ता केवल द्वन्द्व भएको बताउँदै उनले यस्तो जिकिर गरेका हुन्। भण्डारीले अहिलेका नेताका लागि सत्ता केवल ऐनाजस्तो भएको भन्दै जुन कुनै पनि बेला चकनाचूर हुन सक्ने बताए ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् नेपालमा सत्ताको कसी कठिन छ, लोभी, ईर्ष्यालु र साँघुरो सोच भएका नेताका लागि सत्ता केवल द्वन्द्व हो-ऐनाजस्तो, जुन कुनै पनि बेला चकनाचूर हुन सक्छ। आजसम्म सत्ता सञ्चालकको तन्तुमा आवश्यक “पोषण” (ईमानदारी, दूरदृष्टि र उत्तरदायित्व) को कमीले सत्ता अपाङ्ग बनेको छ।

सत्ताको राप-तापमा विवेक गुम्दा विचौलियाले राज्य कब्जा गर्ने र ‘चोरी खान पल्केका ढाडे बिरालाहरू’ ले मुलुक लुट्ने गरेको पनि उनले उदाहरण दिएका छन् । परिणामतः नेताका परिवार बन्दी प्रत्यक्षीकरणको रिट बोकेर अदालत धाउन बाध्य हुने उनले बताए। यस कारण आफू परिवर्तनको प्रतीक्षामा रहेको पनि उनले उल्लेख गरेका छन् ।

उनले भने, सत्ताको राप-तापमा विवेक गुम्दा विचौलियाले राज्य कब्जा गर्छन्, र ‘चोरी खान पल्केका ढाडे बिरालाहरू’ ले मुलुक लुट्छन्। परिणामतः नेताका परिवार बन्दी प्रत्यक्षीकरणको रिट बोकेर अदालत धाउन बाध्य हुन्छन्। प्रतीक्षा-परिवर्तनको। शुभकामना।