२ वैशाख, काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित १३ जनालाई पक्राउ गरेको छ ।
काठमाडौँ महानगरपालिका–१६ बालाजु चोकबाट ६४० मिलिग्राम खैरो हेरोइनसहित नुवाकोटका २२ वर्षीय सुदिप कालेकोटेलाई पक्राउ गरिएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टनेल गेटबाट तीन किलो ३२० ग्राम गाँजासहित ३१ वर्षीय भारतीय नागरिक अजय सिंहलाई पक्राउ गरिएको छ । क्याथे प्यासेफिकको उडानद्वारा हङकङबाट आएका निजलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र लागूऔषध नियन्त्रण ब्युरोको टोलीले पक्राउ गरेको हो ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार झापाको दमक नगरपालिका–४ चियादोकानबाट खैरो हेरोइन र नगद रु १३ हजारसहित सोही नगरपालिका-९ का मनिष श्रेष्ठ, सोही नगरपालिका-९ चियाबगान माछाखाँडीका ३० वर्षीय पपे भन्ने राजु सुनुवार, सुनसरीको धरान उपमहानगरपालिका-१५ बगरकोटबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने १०८ थान ट्रामाडोल ट्याब्लेटसहित विधित विश्वकर्मालाई पक्राउ गरिएको हो ।
यसैगरी, धरान उपमहानगरपालिका-२ भानुचोकबाट दुई, सोही उपमहानगरपालिकाको वडा – ७ बाट एक, इटहरी उपमहानगरपालिका-६ बाट एक, नवलपरासी पश्चिमको रामग्राम नगरपालिका-८ कुनवार चोकबाट दुई, ललितपुर महानगरपालिका-५ थसीखेलबाट दुई जनालाई खैरो हेरोइन, डिजिटल तराजु, नगद रु आठ हजार तथा विदेशी मुद्रासहित दुई जनालाई पक्राउ गरिएको जनाइएको छ । उनीहरू सोमबार र मङ्गलबार पक्राउ परेका हुन् ।





