समाचार

सिंहदरबार प्रवेश गर्ने सशस्त्रका कर्मचारीको विवरण माग्दै हल्चोकद्वारा नक्साललाई पत्र

४ वैशाख, काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालय हल्चोकले नेपाल प्रहरीको प्रधान कार्यालय नक्साललाई सिंहदरबार प्रवेश गर्ने आफ्ना कर्मचारीहरूको विवरण उपलब्ध गराउन पत्राचार गरेको छ।

शुक्रबार पठाइएको उक्त पत्रमार्फत दैनिक रूपमा सिंहदरबार प्रवेश गर्ने सशस्त्र प्रहरीका कर्मचारीहरूको पहिचानसहित विवरण उपलब्ध गराउन आग्रह गरिएको हो।

सशस्त्र प्रहरी स्रोतका अनुसार केही कर्मचारीहरूले आन्तरिक कार्यविधि विपरीत सिंहदरबार प्रवेश गरी बाह्य व्यक्तिसँग भेटघाट गरेको जानकारी पाएपछि छानबिन तथा कारबाही प्रक्रिया अघि बढाइएको हो। सशस्त्र प्रहरीभित्र बाह्य व्यक्तिसँग भेटघाट गर्दा अनिवार्य रूपमा निर्धारित कार्यविधि पालना गर्नुपर्ने व्यवस्था भए पनि उक्त नियम उल्लङ्घन भएको पाइएको स्रोतले जनाएको छ।

सोही आधारमा प्रहरी प्रधान कार्यालयलाई पत्र लेखी सिंहदरबारमा सक्रिय रूपमा प्रवेश गर्ने सशस्त्र प्रहरी कर्मचारीहरूको विवरण माग गरिएको बताइएको छ। ती कर्मचारीहरूको पहिचान गरी आवश्यक कारबाही अगाडि बढाउने तयारी गरिएको छ।

तीन अधिकृतसँग स्पष्टीकरण माग

कार्यविधि विपरीत गतिविधिमा संलग्न भएको आरोपमा तीन सशस्त्र प्रहरी अधिकृतसँग स्पष्टीकरणसमेत सोधिएको छ। स्रोतका अनुसार एसएसपी नेत्र कार्की, एसएसपी राजेश उप्रेती र एसपी हर्कराज पन्तसँग स्पष्टीकरण माग गरिएको हो।

उनीहरूले भेटघाट कार्यविधिअनुसार आवश्यक फाराम नभरिएको र सिंहदरबार प्रवेश गरी बाह्य व्यक्तिसँग भेटघाट गरेको पाइएको छ। प्रारम्भिक जानकारीअनुसार उनीहरूले एसएसपीबाट डीआईजी पदमा बढुवासम्बन्धी विषयमा सिंहदरबारमा बाह्य व्यक्तिहरूसँग छलफल गरेको समेत देखिएको छ।

यस घटनाले सुरक्षा निकायभित्र आन्तरिक अनुशासन र कार्यविधि पालना सम्बन्धी विषयलाई पुनः चर्चामा ल्याएको छ।