५ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली २१ दिनपछि त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन्। पत्थरीको शल्यक्रियापछि उपचाररत रहेका ओली शनिबार साँझ भक्तपुरको गुण्डुस्थित आफ्नै निवास फर्किएको उनकाे सचिवालयले जनाएको छ।
ओलीलाई चैत १४ गते जेनजी आन्दोलनका घटनाको अनुसन्धानका क्रममा प्रहरीले पक्राउ गरेको थियो। पक्राउपछि स्वास्थ्य परीक्षणका लागि उनलाई सोही दिन त्रिवि शिक्षण अस्पताल लगिएको थियो, जहाँ स्वास्थ्य समस्या देखिएपछि भर्ना गरिएको थियो।
अस्पतालमै राखेर प्रहरीले उनीमाथि अनुसन्धान अघि बढाएको थियो। यसैबीच, ओलीकी पत्नी राधिका शाक्यले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सर्वोच्च अदालतले परमादेश जारी गर्दै उनलाई चैत २६ गते हिरासत मुक्त गर्न आदेश दिएको थियो।
अदालतको आदेशपछि प्रहरीले अस्पतालमै उनलाई पत्नीको जिम्मा लगाउँदै हाजिरी जमानीमा रिहा गरेको थियो। तर, स्वास्थ्य अवस्थाका कारण उनले तत्काल अस्पताल छाडेका थिएनन्।
यसअघि नै ओलीको पित्तथैलीमा पत्थरी देखिएको थियो, जसको चैत ३० गते शल्यक्रिया गरिएको थियो। शल्यक्रियापछि थप ६ दिन अस्पतालमा उपचार गराएपछि उनलाई डिस्चार्ज गरिएको हो।
ओलीको स्वास्थ्य अवस्था अहिले सुधारोन्मुख रहेको जनाइएको छ।





