११ बैशाख, काठमाडौं । श्रम सस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुकुम्बासी र गरिब नागरिकहरूको पीडामाथि सरकारी रवैयाको कडा आलोचना गर्दै शासकहरूलाई उनीहरूको वास्तविक जीवन बुझ्न चुनौती दिएका छन्।
चुनावी नारामा धनीपूर्जा बाँड्ने आश्वासन दिएर भोट बटुल्ने तर पछि सुकुम्बासी बस्तीमा डोजर चलाउने सरकारको दोहोरो चरित्रप्रति उनले घोर आपत्ति जनाएका छन्।
साम्पाङले आज सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सुकुम्बासीलाई दमन होइन, उचित पुनर्वास र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारलाई सचेत गराएका छन्।
उनले भने, “भात खान पाउनु मान्छेको पहिलो अधिकार हो। उचित विकल्प नदिई बस्ती भत्काउँदा नागरिक पुलमुनि बस्नुपर्ने अवस्था आउनु राज्यको असफलता हो।”
संविधानले नागरिकलाई ससम्मान बाँच्न पाउने मौलिक हक दिएको भए पनि त्यो कागजमा मात्र सीमित रहेको उनको भनाइ छ।
यथार्थमा सुकुम्बासीको घरमा डोजर चल्ने गरेको र चरा, मुसा, किरा फट्याङ्ग्रालाई समेत बस्न पाउने बासको अधिकार हुने तर मान्छेलाई बेघर बनाउने कार्य अमानवीय भएको उनले बताए।
वर्षौँ पसिना बगाएर कमाएको थोरै सम्पत्तिमाथि सरकारी डोजर चल्दा आक्रोशित बन्नु स्वाभाविक भएको र पीडितलाई अपमान गर्दा झन् घाउमा नुनचुक छर्ने काम भएकोमा उनले समाजको निर्दयताप्रति पनि प्रश्न उठाए।
करोडौँको महलमा सुरक्षा फौज लिएर लाखौँको ओछ्यानमा हजारौँको डिनर गरेर आरामको निद्रा सुत्ने शासकलाई घर टहरा गुमाएर पुलमुनि कुकुर बिरालोसँगै ढल सुँघ्दै सुत्नेको पीडा के थाहा भन्दै उनले व्यंग्य गरेका छन् ।
करोडौँ अरबौँको घोटाला गर्नेहरूलाई कारबाही नगरेर एक मुठा साग बेचेर गुजारा गर्नेलाई शत्रु ठान्ने, निम्न आय भएकालाई जनताले नै तिरेको करबाट किनेको सरकारी लठ्ठी, बुट र बन्दुक देखाउने सरकारको नियतमाथि उनले गम्भीर प्रश्न उठाएका छन्।
साम्पाङले शासकहरूलाई एक रात गरिबको झुपडीमा गएर सुत्न, एक छाक गरिबको खाना खाएर बाँच्न, एक दिन गरिबसँगै ज्याला मजदुरी गरेर हेर्न र एक हप्ता गरिबको पीर जिएर हेर्न सुझाव दिएका छन्।
यसबाट मात्र वास्तविक नेपाल र वास्तविक नेपालीको पीडा बुझ्न सकिने उनको भनाइ छ।
उनले अरूको रोदन र चित्कारलाई संगीत नठान्न र गरिबको पीर, व्यथा, समस्या र आवश्यकतालाई बुझ्न नसक्ने धनी र ठालु सरकारलाई चेतावनी दिएका छन्।





