१२ वैशाख, काठमाडौं । आफ्नै अभिव्यक्तिका कारण विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विश्वराज पोखरेलले अन्ततः सार्वजनिक रूपमा माफी मागेका छन्।
ओखलढुङ्गाबाट निर्वाचित तथा पूर्व एआइजीसमेत रहेका पोखरेल एक विद्यालयका प्रधानाध्यापकसँगको व्यवहारका कारण आलोचनामा परेका थिए। खिजिदेम्बा गाउँपालिका–२ स्थित चण्डेश्वरी माविमा आफ्नो स्वागत गर्न नआएको भन्दै उनले प्रधानाध्यापकलाई कडा शब्दमा चेतावनी दिएका थिए, जसको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि व्यापक आलोचना सुरु भएको थियो।
विवाद चर्किएपछि पोखरेलले प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो धारणा स्पष्ट गरेका छन्। उनले सामाजिक सञ्जालमा फैलिएको भिडियो पूर्ण सन्दर्भबिना काटछाँट गरिएको दाबी गर्दै वास्तविक अवस्था प्रस्तुत नभएको बताएका छन्। उनका अनुसार केही क्षणका दृश्य मात्र सार्वजनिक हुँदा घटनाको समग्र सन्दर्भ विकृत भएको छ।
यद्यपि, उनले आफ्नो व्यवहार संयमित हुनुपर्नेमा त्यस्तो नभएको स्वीकार गरेका छन्। सार्वजनिक जीवनमा रहने व्यक्तिले अझ उच्च स्तरको मर्यादा र धैर्य देखाउनुपर्ने उल्लेख गर्दै उनले आफ्नो अभिव्यक्तिबाट कसैलाई असहज भएको भए त्यसप्रति खेद प्रकट गरेका छन्।
पोखरेलले भविष्यमा आफ्नो बोली र व्यवहारमा सुधार गर्ने प्रतिबद्धता पनि जनाएका छन्।






