१४ वैशाख, काठमाडौं । अर्थ मन्त्रालय ले सार्वजनिक गरेको ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र’ले देशमा उत्पादनमूलक उद्योगको अवस्था कमजोर रहेको देखाएको छ, तर क्षेत्रीय ‘ट्रान्जिट ट्रेड हब’ बन्ने सम्भावना भने बलियो रहेको औँल्याएको छ।
मन्त्रालयका अनुसार विगत एक दशकमा कुल गार्हस्थ उत्पादन (जीडीपी) मा उत्पादनमूलक औद्योगिक क्षेत्रको योगदान औसत ५.४ प्रतिशतमा सीमित रहेको छ। सोही अवधिमा समग्र अर्थतन्त्र औसत ४.२ प्रतिशतले वृद्धि हुँदा उत्पादनमूलक उद्योगको विस्तार भने केवल २.९ प्रतिशतमा सीमित भएको छ।
स्थितिपत्रले औद्योगिकीकरण कमजोर हुनुमा लगानीको अभाव, आयातित कच्चापदार्थमा उच्च निर्भरता, आधुनिक प्रविधिको न्यून प्रयोग र उच्च उत्पादन लागतलाई मुख्य कारणका रूपमा औंल्याएको छ। यी कारणले नेपाली उद्योगको प्रतिस्पर्धात्मक क्षमता घटेको निष्कर्ष निकालिएको छ।
यद्यपि, चुनौतीका बीच पनि औद्योगिक विकास र आपूर्ति शृङ्खला सुदृढ गर्दै निर्यातमुखी उत्पादन विस्तार गर्ने सम्भावना रहेको मन्त्रालयले जनाएको छ। विशेष आर्थिक क्षेत्र, औद्योगिक क्लस्टर र व्यापार सहजीकरणमार्फत उत्पादन लागत घटाएर प्रतिस्पर्धात्मकता बढाउन सकिने उल्लेख गरिएको छ।
साथै, नेपालको भौगोलिक अवस्थाको फाइदा उठाउँदै देशलाई क्षेत्रीय ‘ट्रान्जिट ट्रेड हब’ का रूपमा विकास गर्न सकिने सम्भावना पनि स्थितिपत्रमा उल्लेख गरिएको छ।





