समाचार

नियमावली संशोधनमा कांग्रेसले उठायो गम्भीर प्रश्न

१६ वैशाख, काठमाडौं । नेपाली कांग्रेस ले प्रतिनिधि सभाको कार्य सञ्चालन नियमावली संशोधन प्रस्तावका केही विषयप्रति गम्भीर असहमति जनाएको छ। पार्टीका नेता भीष्मराज आङ्देम्बेले जारी गरेको वक्तव्यमा संशोधन मस्यौदा कार्यदलमै मौखिक रूपमा असहमति जनाइसकिएको र संसदीय प्रक्रियामा औपचारिक रूपमा पनि विरोध जनाइने उल्लेख गरिएको छ।

वक्तव्यमा विशेषगरी फौजदारी अभियोगमा अदालतमा मुद्दा विचाराधीन रहेका प्रतिनिधि सभा सदस्यलाई निलम्बनबाट उन्मुक्ति दिने आशयले गरिएको प्रस्तावप्रति आपत्ति जनाइएको छ। यस्तो व्यवस्था लागू भएमा आम नागरिक र जनप्रतिनिधिबीच फरक मापदण्ड सिर्जना भई कानुनको शासनमा असमानता र विभेद उत्पन्न हुने कांग्रेसको धारणा छ।

कांग्रेसले नियमावलीलाई संसदीय कार्य सञ्चालनको मूल आधार मान्दै त्यसले अन्य प्रचलित ऐनहरूलाई ओभरराइड गर्ने गरी विशेष कानुनको हैसियत लिन नसक्ने स्पष्ट पारेको छ। यस विषयमा जनमानसमा देखिएको अन्यौलप्रति गम्भीर रहेको जनाउँदै पार्टीले नियमावलीको सीमाबारे स्पष्ट पार्न प्रतिबद्धता जनाएको छ।

वक्तव्यको अन्त्यमा ‘जय नेपाल’ उल्लेख गर्दै कांग्रेसले संसदीय मर्यादा र कानुनी समानताको पक्षमा आफ्नो अडान दोहोर्‍याएको छ।