समाचार

क्रियाशील सदस्यता विवादबीच शेखरको ‘मास ग्यादरिङ’

१७ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले बोलाएको बागमती प्रदेशस्तरीय रणनीतिक छलफल सम्पन्न भएको छ। बालुवाटारस्थित ओपेरा होटलमा आयोजित उक्त छलफलमा पार्टीभित्रको वर्तमान राजनीतिक अवस्था र आगामी रणनीतिबारे व्यापक विचार-विमर्श गरिएको हो।

कोइराला निकट स्रोतका अनुसार देश र पार्टीको पछिल्लो अवस्थाबारे सुझाव संकलन गर्दै आफ्नो समूहको धारणा स्पष्ट पार्न छलफल आयोजना गरिएको थियो। कार्यक्रममा बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने पूर्व केन्द्रीय सदस्य, जिल्ला सभापति तथा पूर्वसभापति, संघीय तथा प्रदेश सांसद, पूर्वसांसद, प्रदेश कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति थियो।

छलफलमा सहभागी नेताहरूले १५औं महाधिवेशनको सन्दर्भमा क्रियाशील सदस्यता नवीकरण भइसकेपछि पुनः अध्यावधिक गर्न नहुनेमा अडान लिनुपर्ने सुझाव दिएका छन्। साथै, विशेष महाधिवेशनको विषयले पार्टीभित्र एकता कायम गर्न नसकेको धारणा पनि अधिकांश सहभागीले राखेका छन्।

कार्यक्रममा शशांक कोइराला, बलबहादुर केसी, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, एनपी साउद, दीपक गिरी, सञ्जय गौतम, शिव हुमागाईँ, राजीव कोइराला, टेकप्रसाद गुरुङ, उमेशजंग रायमाझी, गोविन्दराज पोखरेल, किरण यादव, गणेश लामालगायत सहभागी थिए।

त्यसैगरी संघीय सांसदहरू चन्द्रमोहन यादव, उर्मिला थपलिया र गीता देवकोटाको पनि सहभागिता रहेको थियो।

बागमती प्रदेश समितिबाट महामन्त्री राजु श्रेष्ठ, सहमहामन्त्री जीवन डंगोल तथा सदस्यहरू उपेन्द्र लम्साल, शान्ता क्षेत्री, होम चौलागाईँ, नानु दाहाल, सुनिता काफ्ले र अस्मिन सिटौला सहभागी भएका थिए।

जिल्ला तहबाट धादिङका सभापति रामनाथ अधिकारी, नुवाकोटका सभापति रमेश महत, चितवनका सभापति राजेश्वर खनाल, मकवानपुरका उपसभापति धर्म लामिछाने, सिन्धुलीका सचिव ईश्वर बस्नेत र काठमाडौं महानगर सभापति निलकाजी शाक्यको उपस्थिति थियो।

यसैगरी प्रदेश सांसदहरू रामकृष्ण चित्रकार र हरिप्रभा खड्गी, पूर्व प्रदेश सांसदहरू नरोत्तम वैद्य र बिजुला बर्मा, कीर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डंगोल, तरुण दलका पूर्व केन्द्रीय सभापति विनोद कायस्थ तथा नेता लोकेश ढकाललगायत गरी कुल १२३ जनाको सहभागिता रहेको कोइरालाको सचिवालयले जनाएको छ।