समाचार

थापाथलीमा बस्ती हटाउँदै गर्दा बागमतीमा हाम फालेर एक पुरुषको ज्यान गयो

१८ वैशाख, काठमाडौं । थापाथलीस्थित सुकुम्बासी बस्तीमा बस्ती हटाउने क्रममा एक पुरुषले बागमती नदीमा हाम फालेर ज्यान गुमाएका छन्।

शुक्रबार बस्ती खाली गराउने कार्य चलिरहेका बेला आफ्नो सामान सार्दै गरेका ती पुरुषले अचानक नदीमा हाम फालेको प्रहरीले जनाएको छ। घटनापछि स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा उनको शव बागमती नदीबाट बाहिर निकालिएको थियो।

प्रहरीका अनुसार मृतकको पहिचान हालसम्म खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

बस्ती भत्काउने क्रममा उत्पन्न तनाव र असहज अवस्थाबीच उक्त घटना भएको बताइएको छ। यसअघि पनि सोही थापाथली सुकुम्बासी बस्तीमा एक १७ वर्षीय किशोरले आत्महत्या गरेका थिए।

पछिल्ला यस्ता घटनाले बस्ती विस्थापनसँग जोडिएका मानवीय पक्ष र चुनौतीहरूलाई थप गम्भीर बनाएको छ।