१९ वैशाख, काठमाडौं । रोल्पामा भएको जिप दुर्घटनाको तीन दिनपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आधिकारिक रूपमा दुःख व्यक्त गरेको छ। शनिबार कार्यालयका प्रवक्ता सहसचिव हेमराज अर्यालद्वारा जारी प्रेस विज्ञप्तिमा उक्त दुर्घटनाले सिंगो राष्ट्रलाई शोकमग्न बनाएको उल्लेख गरिएको छ।
विज्ञप्तिअनुसार २०८३ वैशाख १७ गते दिउँसो करिब २:५० बजे रोल्पाको थवाङ गाउँपालिका–१ सल्यापमा भएको जिप दुर्घटनामा २० जनाको ज्यान गएको थियो। घटनापछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय बासिन्दाको सक्रियतामा तत्काल उद्धार कार्य तीव्र बनाइएको पनि उल्लेख गरिएको छ।
घटनाको सत्यतथ्य सार्वजनिक गर्न गृह मन्त्रालयले बालेन्द्र शाह नेतृत्वको सरकार अन्तर्गत लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षकको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको जनाएको छ। सोही दिन मन्त्रालयले मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै प्रारम्भिक विवरण सार्वजनिक गरेको थियो।
छानबिन समितिलाई दिइएको तीन दिनको समय आज सकिन लागेको र प्रतिवेदन प्राप्त हुनासाथ निष्कर्ष तथा सुझाव कार्यान्वयनमा लैजाने तयारी भइरहेको विज्ञप्तिमा उल्लेख छ। साथै देशभरको सडक सुरक्षा प्रणाली सुधार गर्न नीतिगत र संरचनागत कदम चालिने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।
विज्ञप्तिमा सडक दुर्घटना नागरिकको जीवन र भविष्यसँग जोडिएको गम्भीर विषय भएकाले यसमा देखिएका प्राविधिक तथा मानवीय कमजोरी सुधार्न सरकार दृढ रहेको उल्लेख गरिएको छ।
यस दुःखद घडीमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पुनः मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।






