१९ वैशाख, काठमाडौं । नदी किनारका अनधिकृत संरचना हटाउने क्रममा नयाँ बसपार्क नजिकै विष्णुमती नदी किनारमा पुगेको डोजर स्थानीयले लालपूर्जा देखाएपछि रोकिएको छ।
उक्त क्षेत्रमा रहेका करिब १०–१२ घरधुरीले आफ्नो जग्गा वैधानिक रहेको दाबी गर्दै लालपूर्जा प्रस्तुत गरेपछि केहीबेरदेखि भत्काउने कार्य स्थगित गरिएको हो।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलका अनुसार, जग्गाको वास्तविक अवस्था पत्ता लगाउन आठ सदस्यीय सरकारी टोली खटाइएको छ। टोलीमा काठमाडौं महानगरपालिका, नापी कार्यालय, मालपोत कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा काठमाडौं उपत्यका विकास प्राधिकरण र बागमती सम्बन्धित निकायका प्रतिनिधिहरू सहभागी छन्।
स्थानीयले आफूहरूको हकभोगको जग्गा भएको दाबी गर्दै घर भत्काउन नदिने अडान लिएपछि सत्यतथ्य बुझ्न टोली परिचालन गरिएको सीडीओ पौडेलले जानकारी दिएका छन्।
उनले भने, “फिल्डमै भेरिफाइ भइरहेको छ, टोलीले अध्ययन गरेर प्रतिवेदन दिन्छ, त्यसपछि आवश्यक निर्णय लिइन्छ।”
सरकारी टोलीको प्रतिवेदन आएपछि मात्रै उक्त क्षेत्रमा थप कारबाहीबारे अन्तिम निर्णय गरिने जनाइएको छ।





