बाग्मती

बीपी राजमार्गमा सवारी आवागमन बन्द

२१ बैशाख, काठमाडौं । काभ्रेपलाञ्चोकस्थित बीपी राजमार्गमा सवारी आवागमन फेरि बन्द गरिएको छ ।

जिल्लाका विभिन्न स्थानमा वर्षा भएसँगै सम्भावित जोखिमलाई मध्यनजर गरी सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको काभ्रे प्रहरीले आज अपराह्न ४ः१५ बजे जारी गरेको सूचनामा उल्लेख छ ।

“प्रतिकूल मौसमको कारण काभ्रेपलाञ्चोक जिल्लाको विभिन्न स्थानहरूमा अत्यधिक ठूलो पानी परिरहेको हुनाले बीपी राजमार्गमा हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै तत्कालको लागि सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ,” सूचनामा भनिएको छ ।

वर्षा रोकिएपश्चात् सडकमार्गमा कुनै अवरोध नभएको अवस्थामा अर्को सूचना प्रकाशन गरी बाटो खुलाइएको जानकारी गराइने प्रहरीले जनाएको छ ।

कुशादेवी क्षेत्रमा वर्षा हुँदा रोशी खोलामा पानीको सतह बढेपछि सोमबार बिहानदेखि बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको थियो । ‘डाइभर्सन’ मर्मत गरी सोमबारै दिउँसोदेखि यातायात सञ्चालनमा ल्याइएकामा अपराह्न पुनः बन्द गरिएको हो ।

विशेष गरी कटुन्जेदेखि मंगलटार सडकखण्डको घुमाउनेनजिक स्थानमा वर्षासँगै समस्या निम्तने गरेको छ । त्यहाँ रोशी खोलामा अस्थायी डाइभर्सन बनाइएको छ ।

गत वर्ष असोजमा बाढीले उक्त क्षेत्रमा सडक बगाएको थियो । त्यसपछि खोलामा डाइभर्सन बनाएर त्यहीँबाट सवारी आवागमन गरिँदै आएको छ । गएको चैतमा पनि बाढीले सडक बगाएको थियो ।