राजनीति

लिपुलेक मार्ग हुँदै मानसरोवर यात्रा सञ्चालन गर्ने सहमतिप्रति कांग्रेसको कडा आपत्ति

वैशाख २१, काठमाडौं । भारत र चीनले लिपुलेक मार्ग हुँदै कैलाश मानसरोवर यात्रा सञ्चालन गर्ने विषयमा गरेको सहमतिप्रति नेपाली कांग्रेस ले गम्भीर आपत्ति जनाएको छ।

पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सहमहामन्त्री उदयशमशेर जबराले उक्त सहमतिले नेपालको भू–भागमाथि असर पार्ने विषयमा गम्भीर ध्यानाकर्षण भएको बताए।

कांग्रेसले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको स्पष्ट भू–भाग भएको अडान दोहोर्‍याउँदै यस विषयमा सरकारले पठाएको कूटनीतिक नोटलाई सकारात्मक रूपमा लिएको जनाएको छ।

बैठकमा सीमा विवादलाई कूटनीतिक तथा राजनीतिक संवादमार्फत समाधान गर्नुपर्नेमा जोड दिइएको छ। साथै, राष्ट्रिय मामिलामा दलगत विभाजन नगरी एकताबद्ध रूपमा अघि बढ्नुपर्ने निष्कर्ष पनि निकालिएको छ।

कांग्रेसले यसअघि पनि सन् २०१५ मा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको समयमा यस विषयमा कूटनीतिक नोट पठाइएको स्मरण गराउँदै ऐतिहासिक सन्धि र प्रमाणका आधारमा भारत र चीनसँग वार्ता गरी समाधान खोज्नुपर्ने धारणा राखेको छ।

पार्टीले सरकारलाई सबै राजनीतिक दलसँग छलफल गरी साझा राष्ट्रिय अडान बनाउन पनि आग्रह गरेको छ।