२२ वैशाख, काठमाडौं । टोखा नगरपालिका–१ स्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलभित्र एक महिलाको हत्या गरी गाडेको अवस्थामा शव फेला परेको छ।
गत वैशाख ११ गतेदेखि बेपत्ता भएकी ४५ वर्षीया सरिता तिवारीको शव सड्न थालेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। उनी तारकेश्वर नगरपालिका–३ तीनपिप्लेबाट “बजार जान्छु” भन्दै घरबाट निस्किएकी थिइन् तर त्यसपछि सम्पर्कविहीन भएकी थिइन्।
अनुसन्धानका क्रममा उनको सम्पर्कमा रहेका एक व्यक्तिमाथि शंका लागेपछि टोखा नगरपालिका–२ का ३५ वर्षीय अनिल डंगोललाई प्रहरीले नियन्त्रणमा लिएको थियो। सोधपुछका क्रममा उनले हत्या स्वीकार गरेको बताइएको छ।
उनकै बयानका आधारमा प्रहरी टोलीले शिवपुरी जंगलमा पुगेर गाडिएको अवस्थामा शव फेला पारेको हो।
शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





