२४ बैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले सरकारी जग्गा अतिक्रमण र सत्ता तथा शक्तिको दुरुपयोगका विषयमा प्रधानमन्त्रीलाई खुला अपील गरेका छन्।
उनले आफ्नो फेसबुक स्टाटसमार्फत सरकारका मन्त्री र सत्तापक्षका सांसदहरू नै हुकुमबासी भएको समाचारहरू सार्वजनिक भइरहेको भन्दै सुशासनका लागि आफ्नै घरबाट सुरुवात गर्न आग्रह गरेका छन्।
शाहीले आफ्नो लडाइँ कुनै व्यक्ति केन्द्रित नभई सुशासनको लागि भएको स्पष्ट पारेका छन्।
उनले प्रधानमन्त्रीलाई तत्काल हुकुमबासीु हरूलाई सरकारी जमिन छोड्न र सरकारी जमिनमा बनेका संरचनाहरू सरकारलाई हस्तान्तरण गर्न अपिल गर्न आग्रह गरेका छन्।
उनले भनेका छन्, जोगिन खोजेका हुकुमबासीहरूलाई राजनीतिक संरक्षण होइन, कानुनी दायरामा ल्याइनुपर्छ। कानुन सबैका लागि समान हुनुपर्छ— चाहे सत्ता पक्ष होस् वा प्रतिपक्ष, मन्त्री होस् वा सामान्य नागरिक।
शाहीले यदि सरकार वास्तवमै सुशासन, पारदर्शिता र विधिको शासनप्रति प्रतिबद्ध छ भने यसको सुरुवात आफ्नै घरबाट गर्नुपर्नेमा जोड दिएका छन्।
उनले जनताले न्याय, निष्पक्षता र उत्तरदायित्व खोजेको, प्रतिशोध नभएको उल्लेख गर्दै सरकारी सम्पत्तिमाथिको अतिक्रमण हटाउने अभियान निष्पक्ष, पारदर्शी र सबैमा समान रूपमा लागू हुन आवश्यक रहेको बताएका छन्।
यो अपील सरकारी जग्गा अतिक्रमणको विषयमा जनस्तरबाट उठिरहेका आवाजहरूलाई थप बल पुर्याउने अपेक्षा गरिएको छ ।






