२१ मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको भ्रष्टाचार प्रकरणमा हालसम्म तीन वटा मुद्दा दायर गरेको छ । बिहीबार दायर गरिएको नयाँ मुद्दासँगै यस प्रकरणमा जोडिने पूर्वमन्त्रीहरूको संख्या ६ पुगेको छ ।
यसअघि गत वर्ष मंसिरमा दायर गरिएको मुद्दामा तत्कालीन मन्त्रीहरू भीम आचार्य, रामकुमार श्रेष्ठ, दीपक अमात्य, रामशरण महत र पोष्टबहादुर बोगटीलाई प्रतिवादी बनाइएको थियो । बोगटीको निधन भइसकेकाले उनकी पत्नी राममाया बोगटीलाई प्रतिवादी बनाइएको छ ।
बिहीबार दायर गरिएको तेस्रो मुद्दामा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जनाविरुद्ध अभियोग दर्ता गरिएको छ । अन्य प्रतिवादीहरू अधिकांश कर्मचारी र प्राधिकरणका अधिकारीहरू रहेका छन् ।
विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेका अनुसार ठेक्का सम्झौताविपरीत ठेकेदारलाई राजस्व छुट दिई राज्यलाई हानि पुर्याएको आरोपमा मुद्दा दायर गरिएको हो । अख्तियारले यस मुद्दामा ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ बिगो दाबी गरेको छ ।
मुद्दामा तत्कालीन अर्थसचिव शंकरप्रसाद अधिकारी, पर्यटन सचिव महेश्वर न्यौपाने, सहसचिवद्वय सुरेश आचार्य र दुण्डुराज घिमिरे, पूर्वसचिव केवल भण्डारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जीव गौतम र प्रदीप अधिकारीलगायतलाई पनि प्रतिवादी बनाइएको छ ।
यसअघि गत चैतमा दायर गरिएको अर्को मुद्दामा २१ व्यक्ति र दुई कम्पनीलाई प्रतिवादी बनाइएको थियो । त्यस मुद्दामा तत्कालीन पर्यटन सचिव केदारबहादुर अधिकारी तथा प्राधिकरणका तत्कालीन महानिर्देशकहरू सञ्जीव गौतम र राजन पोखरेलसमेत परेका थिए । उक्त मुद्दामा अख्तियारले ४६ करोड १५ लाख ८४ हजार ४३४ रुपैयाँ बिगो माग गरेको थियो ।
अख्तियारका अनुसार विमानस्थल निर्माणमा परामर्शदाता नियुक्ति, लागत अनुमानभन्दा बढी रकममा सम्झौता, आन्तरिक बजेटबाट खर्च गर्न नमिल्ने अवस्थामा पनि भुक्तानी गरिएको लगायतका कार्यबाट राज्यलाई ठूलो आर्थिक क्षति पुगेको ठहर गरिएको छ ।





