समाचार

इन्धन र मल आपूर्तिमा भारतको प्रतिबद्धता : नेपाललाई अभाव हुन दिँदैनौं

२४ वैशाख, काठमाडौं । भारतीय विदेश मन्त्रालयले नेपाललाई आवश्यक परिमाणमा पेट्रोलियम पदार्थ र रासायनिक मल आपूर्ति निरन्तर जारी रहने जनाएको छ।

बिहीबार आयोजित साप्ताहिक मिडिया ब्रिफिङमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नेपाल–भारत सम्बन्ध बहुआयामिक र घनिष्ठ रहेको उल्लेख गर्दै अत्यावश्यक वस्तुको आपूर्तिमा कुनै अवरोध नआउने बताएका हुन्।

नेपालमा इन्धन र रासायनिक मल आपूर्तिबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा उनले दुई देशबीचको व्यापारिक तथा रणनीतिक सहकार्य निरन्तर अघि बढिरहेको बताए।

‘नेपाल र भारतबीच पेट्रोलियम पदार्थ आपूर्तिसम्बन्धी सहयोग सम्झौता अनुसार हामीले निरन्तर इन्धन उपलब्ध गराउँदै आएका छौं,’ प्रवक्ता जैसवालले भने, ‘यो प्रक्रिया आगामी दिनमा पनि निरन्तर रहनेछ।’

उनले नेपाललाई आवश्यक पर्ने रासायनिक मल आपूर्तिमा पनि भारत प्रतिबद्ध रहेको स्पष्ट पारे। नेपालले रासायनिक मल खरिदका लागि भारतसँग सरकार–सरकार (जीटुजी) सम्झौता गर्दै आएको छ भने पेट्रोलियम पदार्थ आपूर्ति लामो समयदेखिको व्यावसायिक सहकार्यअन्तर्गत भइरहेको छ।