राजनीति

च्यासल छाड्नुपर्ने भएपछि एमालेले कहाँ खोज्दै छ नयाँ कार्यालय?

२४ वैशाख, काठमाडौं । सरकारले भोगाधिकारमा रहेका तर लिजमा रूपान्तरण नभएका जग्गा खाली गर्न सूचना जारी गरेपछि नेकपा एमाले नयाँ केन्द्रीय कार्यालय खोज्ने तयारीमा जुटेको छ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा हाल एमालेको केन्द्रीय कार्यालय सञ्चालन हुँदै आएको छ। भूमि व्यवस्था मन्त्रालयले जारी गरेको सूचनाअनुसार उक्त भवन पनि खाली गर्नुपर्ने अवस्था देखिएको एमाले स्रोतले जनाएको छ।

‘आधिकारिक पत्र आएको छैन, तर सरकारको सूचनाअनुसार च्यासलको भवन पनि खाली गर्नुपर्ने देखिन्छ,’ एमाले स्रोतले भन्यो, ‘त्यसैले नयाँ कार्यालय खोज्ने काम सुरु भइसकेको छ।’

तुलसीलाल स्मृति प्रतिष्ठानका अध्यक्ष गोपाल शाक्यले भने आफूहरूले मन्त्रिपरिषद्को निर्णयअनुसार कानुनी रूपमा जग्गा प्रयोग गरिरहेको दाबी गरेका छन्। उनका अनुसार प्रतिष्ठानले ५० वर्षका लागि लिजमा लिन प्रयास गरे पनि सरकारले स्वीकृति दिएको थिएन।

भूकम्पपछि बल्खुस्थित पुरानो कार्यालय भत्किएपछि एमालेले विभिन्न स्थानमा कार्यालय सार्दै आएको थियो। धुम्बाराही, थापाथली हुँदै २०७८ सालदेखि एमाले च्यासलस्थित भवनमा बस्दै आएको हो।

यसअघि कीर्तिपुरमा व्यवसायी मीनबहादुर गुरुङको सहयोगमा नयाँ पार्टी कार्यालय निर्माण गर्ने घोषणा गर्दै शिलान्यास गरिएको थियो। तर, उक्त परियोजनालाई लिएर पार्टीभित्रै विवाद चर्किएको थियो।