राजनीति

प्रधानन्यायाधीश सिफारिसमा प्रधानमन्त्रीको प्रस्तावप्रति विपक्षीको आपत्ति

२४ वैशाख, काठमाडौं । प्रधानमन्त्रीले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशका रूपमा सिफारिस गरेपछि संवैधानिक परिषद्मा विधि र परम्परा मिचिएको भन्दै असहमति प्रकट गरिएको छ।

राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल र प्रमुख विपक्षी दलका नेता भिष्मराज आङदेम्बेले सिफारिस प्रक्रियाप्रति लिखित असहमति जनाएका हुन्। उनीहरूले प्रधानन्यायाधीश नियुक्तिमा स्थापित वरिष्ठताक्रम र परम्परा उल्लंघन गरिएको दाबी गरेका छन्।

अध्यक्ष दाहालका अनुसार बैठकमा प्रधानमन्त्रीले डा. शर्मालाई योग्य र क्षमतावान् भन्दै प्रधानन्यायाधीशका रूपमा अघि सारेका थिए। तर, अन्य सदस्यहरूले प्रक्रिया र विधि मिचेर हतारमा प्रस्ताव ल्याइएको भन्दै समर्थन गर्न नसकिने बताएका थिए।

‘विधि र प्रक्रियामै प्रश्न उठ्ने गरी हठात् प्रस्ताव आयो, त्यसैले सहमति जनाउन सकिएन,’ दाहालले भने।

सिफारिस अनुसार संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएमा डा. शर्मा नेपालका ३३ औँ प्रधानन्यायाधीश बन्नेछन् र करिब ६ वर्षे कार्यकाल सम्हाल्नेछन्।