समाचार

प्रधानन्यायाधीश सिफारिसमा बारको धारणा भोलि तय हुने

२४ वैशाख, काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीश सिफारिसबारे नेपाल बार एसोसिएसनले आफ्नो औपचारिक धारणा भोलि सार्वजनिक गर्ने भएको छ। संवैधानिक परिषद्ले हालै गरेको सिफारिसपछि उत्पन्न परिस्थितिबारे निष्कर्षमा पुग्न बारले पूर्वपदाधिकारीहरूसँग छलफल गर्ने जनाएको छ।

बार एसोसिएसनका अध्यक्ष डा. विजय मिश्रका अनुसार विषय संवेदनशील भएकाले पहिले पूर्वपदाधिकारीहरूसँग परामर्श गरेर मात्र संस्थागत धारणा सार्वजनिक गरिनेछ। उनले भोलि बैठक बसेर अन्तिम निर्णय गर्ने तयारी रहेको जानकारी दिएका छन्।

संवैधानिक परिषद्को बिहीबार बसेको बैठकले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशका रूपमा सिफारिस गरेको थियो। सिफारिस सूचीमा रहेका छ जना न्यायाधीशमध्ये शर्मा चौथो स्थानमा थिए।

सो निर्णयप्रति परिषद् बैठकमै राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल र प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले फरक मत व्यक्त गर्दै लिखित असहमति दर्ता गरेका थिए।

अब बार एसोसिएसनले सिफारिस प्रक्रिया र त्यसले न्यायिक प्रणालीमा पार्ने प्रभावबारे औपचारिक धारणा भोलि सार्वजनिक गर्ने जनाएको छ।