समाचार

न्यायमाथि ‘धराप’ थाप्ने खेल खतरनाक छ : सपना प्रधान मल्ल

२६ वैशाख, काठमाडौं । कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल ले न्याय र संविधानमाथि कुनै पनि बहानामा हस्तक्षेप गर्ने प्रयास खतरनाक हुने चेतावनी दिएकी छन् ।

कानुन दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले न्यायको प्रतिस्थापन गर्न खोज्ने प्रवृत्तिलाई सहने वातावरण बन्न थालेको भन्दै चिन्ता व्यक्त गरिन् । उनले यस्ता गतिविधिले संवैधानिक व्यवस्था र शासन प्रणालीमै गम्भीर असर पार्न सक्ने बताइन् ।

प्रधानन्यायाधीश मल्लले तत्कालको शक्ति वा प्रभावका आधारमा संविधानविपरीतका कामलाई स्वीकार गरियो भने त्यसको परिणाम अनिश्चित र जोखिमपूर्ण हुने टिप्पणी गरिन् । उनले “एउटालाई खाने बाघले अर्कोलाई नखाला भन्न नसकिने” भन्दै संविधानमाथि हुने हस्तक्षेप अन्ततः सबैका लागि खतरा बन्न सक्ने संकेत गरिन् ।

उनले संविधानलाई यथावत् राखेर त्यसकै विरुद्ध गरिने गतिविधिलाई परिवर्तन वा क्रान्तिको नाम दिन नमिल्ने स्पष्ट पारिन् । संविधान उल्लंघन गर्नेहरूलाई उत्तरदायी नबनाएसम्म संविधानको सही कार्यान्वयन सम्भव नहुने उनको भनाइ थियो ।

मल्लले संवैधानिक मूल्य, न्याय प्रणाली र कानुनी शासनको रक्षा गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिएकी छन् ।