२६ बैशाख, काठमाडौं । कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले न्यायाधीशहरूलाई कुनै पनि राजनीतिक प्रभाव, डर वा दबाबमा नपरी निष्पक्ष रूपमा न्याय सम्पादन गर्न निर्देशन दिएकी छन्।
७४ औँ कानुन दिवसको अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले दुईतिहाइको सरकार वा महाअभियोगको धम्कीले न्यायको मर्म मर्न दिनु नहुने बताइन्।
समारोहमा उपस्थित न्यायाधीशहरूलाई उच्च मनोबलका साथ काम गर्न हौसला दिँदै कामु प्रधानन्यायाधीश मल्लले भनिन्, ‘डर र प्रभावमा न्याय सम्भव छैन। चाहे त्यो दुईतिहाइ सरकारको डर होस् वा महाअभियोगको भय, न्यायाधीशहरू यी सबै संकुचित घेराबाट मुक्त हुनुपर्छ।’
उनले अदम्य साहसका साथ न्यायको मन्दिरलाई निष्पक्ष राख्न सम्पूर्ण न्यायकर्मीहरूलाई आह्वान गरिन्। उनले न्यायपालिकाको स्वतन्त्रता र गरिमा अक्षुण्ण राख्न न्यायाधीशहरूले निर्भीक भएर फैसला गर्नुपर्नेमा जोड दिइन्।
राजनीतिक शक्ति सन्तुलन वा सरकारको बहुमतको आधारमा न्याय प्रभावित हुन नहुने उनको धारणा थियो।आफ्नो व्यक्तिगत सङ्घर्षको स्मरण गर्दै कामु प्रधानन्यायाधीश मल्लले आफू कानुन व्यवसायी भएदेखि नै विभेद र अन्यायका विरुद्ध लड्दै आएको बताइन्। उनले आजको दिनले सबैलाई न्यायको मार्गमा हिँड्ने थप प्रेरणा दिने विश्वास व्यक्त गरिन्।
यस गम्भीर मोडमा संविधानवाद, विधिको शासन र नागरिक हकको रक्षाका लागि नेपाल बार एसोसिएसन, आमसञ्चार माध्यम र नागरिक समाजको भूमिका महत्त्वपूर्ण हुने उनले उल्लेख गरिन्।
न्यायपालिकाको स्वतन्त्रता जोगाउन सबै सरोकारवाला निकायहरूले एक भएर काम गर्नुपर्ने उनको भनाइ थियो।
समारोहमा राष्ट्रपति र उपराष्ट्रपतिको गरिमामय उपस्थितिले राज्यका अङ्गहरूबीचको सुमधुर सम्बन्धलाई झल्काएको उनले बताइन्।
कानुन दिवसमा राज्यका प्रमुख अङ्गहरू एकै ठाउँमा भेला हुने परम्पराले लोकतन्त्रलाई थप बलियो बनाउने उनको विश्वास थियो





