२६ वैशाख, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रमका लागि आमनागरिकबाट सुझाव संकलन गर्न डिजिटल पोर्टल सञ्चालनमा ल्याएको छ ।
सरकारले सोमबार सार्वजनिक गर्ने नीति तथा कार्यक्रम र जेठ १५ मा प्रस्तुत हुने बजेटलाई थप सहभागीमुखी बनाउन यो प्रणाली सुरु गरिएको प्रधानमन्त्री बालेन्द्र शाह को सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीको प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहाल का अनुसार पोर्टलमार्फत देश तथा विदेशमा रहेका नेपाली, विषय विज्ञ र नीति–निर्माताले विकासका प्राथमिकता र बजेट सम्बन्धी आफ्ना सुझाव सिधै पठाउन सक्नेछन् ।
उनले सरकारको नीतिनिर्माण प्रक्रियालाई सीमित प्रशासनिक घेराबाट बाहिर ल्याएर जनभावना र विज्ञताको समेट गर्ने उद्देश्यले यो पहल गरिएको बताइन् ।
सचिवालयका अनुसार पोर्टलमा ‘सुझाव ट्रयाक’ सुविधा पनि राखिएको छ, जसबाट नागरिकले आफूले पठाएको सुझावको अवस्था र त्यसमा सरकारले गरेको कामबारे जानकारी लिन सक्नेछन् ।
नागरिकले मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक वेबसाइटमार्फत पोर्टल प्रयोग गरी आफ्ना सुझाव प्रधानमन्त्री कार्यालयसम्म सिधै पुर्याउन सक्ने जनाइएको छ ।





