२ जेठ, काठमाडौं । प्रतिनिधिसभाले आगामी असार १५ गतेसम्मको संसदीय क्यालेन्डर सार्वजनिक गरेको भए पनि प्रधानमन्त्रीसँग हुने प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम समावेश गरिएको छैन ।
प्रतिनिधिसभा नियमावलीको नियम ५६ अनुसार प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्नुपर्ने व्यवस्था छ । नियमावलीमा सभामुखले बैठकको पहिलो एक घण्टा प्रधानमन्त्रीलाई सांसदहरूले प्रत्यक्ष प्रश्न सोध्ने समय निर्धारण गर्नुपर्ने उल्लेख छ ।
यदि तोकिएको दिन बैठक बस्न नसके लगत्तै बस्ने अर्को बैठकमा उक्त कार्यक्रम सञ्चालन गर्नुपर्ने बाध्यकारी प्रावधान पनि नियमावलीमा रहेको छ । तर सार्वजनिक गरिएको नयाँ संसदीय क्यालेन्डरमा जेठ र असार दुवै महिनाका लागि यस्तो कार्यक्रम राखिएको छैन ।
संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरी ले बजेटसम्बन्धी कार्यसूचीमा बढी केन्द्रित हुनुपर्ने भएकाले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम क्यालेन्डरमा समावेश नगरिएको बताएका छन् ।
संसदीय क्यालेन्डरअनुसार जेठ ४ गतेदेखि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु हुनेछ । जेठ १३ गते आर्थिक वर्ष २०८२/०८३ को आर्थिक सर्वेक्षण पेश गरिनेछ भने जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुनेछ ।
त्यसपछि बजेटमाथिको छलफल, विनियोजन विधेयक, आर्थिक विधेयक तथा राष्ट्र ऋण उठाउने विधेयकमाथि दफावार छलफल र पारित गर्ने कार्यतालिका तय गरिएको छ ।
असार ८ गतेसम्म आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित गर्ने तयारी संसद्को कार्यतालिकामा समावेश गरिएको छ ।





