३ जेठ, काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्ध परेका उजुरीहरू संसदीय सुनुवाइ समितिले आगामी मंगलबार खोल्ने तयारी गरेको छ ।
संसदीय सुनुवाइ समिति सचिवालयका अनुसार शनिबार साँझसम्म शर्माविरुद्ध ७ वटा उजुरी दर्ता भएका छन् । संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीका अनुसार सोमबार कार्यालय समयसम्म उजुरी दर्ता गर्न सकिनेछ ।
यसअघि वैशाख २६ गते बसेको समितिको बैठकले शर्माविरुद्ध १० दिनको समय दिएर उजुरी आह्वान गर्ने निर्णय गरेको थियो । समिति सभापति बोधनारायण श्रेष्ठले मंगलबार बैठक राखेर उजुरी खोल्ने र त्यसपछि अध्ययनका लागि सदस्यहरूलाई वितरण गरिने जानकारी दिएका छन् ।
सचिवालयका अनुसार उजुरी हुलाक, इमेल, सचिवालयमा प्रत्यक्ष पत्रमार्फत तथा ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत पनि दर्ता गर्न सकिने व्यवस्था गरिएको छ । समितिका सदस्यलाई खामबन्दी गरेर प्रत्यक्ष बुझाउने सुविधा पनि रहेको छ ।
उजुरी दिँदा विषयवस्तुको आधार र कारण स्पष्ट खुलाउन आग्रह गरिएको सचिवालयले जनाएको छ । संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशमा सिफारिस भएका शर्मालाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट नियुक्ति हुने संवैधानिक व्यवस्था छ ।





