समाचार

उपहार लिन र सामाजिक सञ्जाल चलाउन रोक : श्रम मन्त्रालयले ल्यायो कडा आचारसंहिता

४ जेठ, काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालय ले मन्त्रालय र मातहतका निकायमा कार्यरत कर्मचारीका लागि नयाँ आचारसंहिता जारी गरेको छ । मन्त्रालयले कर्मचारीको आचरणलाई निष्पक्ष, पारदर्शी, सेवामूलक र अनुशासित बनाउन आचारसंहिता लागू गरिएको जनाएको छ ।

नयाँ आचारसंहितामा कर्मचारीको व्यक्तिगत आचरण, कार्यालय व्यवहार, सेवा प्रवाह, गोपनीयता, आर्थिक अनुशासन तथा सामाजिक सञ्जाल प्रयोगसम्बन्धी स्पष्ट व्यवस्था गरिएको छ ।

आचारसंहिताअनुसार कर्मचारीले सेवाग्राहीसँग शिष्ट, मर्यादित र सम्मानजनक व्यवहार गर्नुपर्नेछ । कुनै पनि प्रकारको घुस, उपहार, सुविधा वा अनुचित लाभ लिन नपाइने व्यवस्था गरिएको छ । साथै पद र अधिकारको दुरुपयोग गर्न, व्यक्तिगत स्वार्थका लागि निर्णय प्रभावित पार्न तथा सरकारी स्रोत–साधन निजी प्रयोजनमा प्रयोग गर्न निषेध गरिएको छ ।

मन्त्रालयले कार्यालय समयको पूर्ण पालना गर्न, निर्धारित पोशाकमा उपस्थित हुन, सहकर्मीसँग सहयोगी सम्बन्ध कायम गर्न तथा कार्यालयको गोपनीयता संरक्षण गर्न कर्मचारीलाई निर्देशन दिएको छ । निर्णय प्रक्रिया, कागजात तथा सेवाग्राहीसँग सम्बन्धित संवेदनशील सूचना अनधिकृत रूपमा सार्वजनिक गर्न नपाइने उल्लेख गरिएको छ ।

सामाजिक सञ्जाल प्रयोगलाई पनि आचारसंहिताले व्यवस्थित गरेको छ । कार्यालय समयमा मोबाइल वा कम्प्युटरमार्फत व्यक्तिगत प्रयोजनका लागि सामाजिक सञ्जाल प्रयोग गर्न रोक लगाइएको छ । पदीय हैसियत प्रयोग गरेर मन्त्रालय वा सरकारी निकायको नामबाट सामाजिक सञ्जाल चलाउँदा व्यक्तिगत पहिचान खुलाउन नपाइने व्यवस्था समेत गरिएको छ ।

त्यस्तै कृत्रिम बुद्धिमत्ता (एआई), तथ्यांक विश्लेषण र मेसिन सिकाइ जस्ता प्रविधिको प्रयोग गर्दा गोपनीयता, निष्पक्षता र उत्तरदायित्वको सिद्धान्त पालना गर्नुपर्ने उल्लेख छ । कार्यालय समयबाहेक सामाजिक सञ्जाल प्रयोग गर्दा पनि सरकारी सेवाको मर्यादा र पेशागत नैतिकतामा असर नपर्ने गरी सतर्कता अपनाउनुपर्ने आचारसंहितामा भनिएको छ ।

सरकारी नीतिविरुद्ध भ्रम फैलाउने, संस्थाको प्रतिष्ठामा आँच पुग्ने सामग्री प्रकाशन गर्ने वा गोप्य सूचना सार्वजनिक गर्ने कार्यलाई अनुशासनहीनता मानिने व्यवस्था गरिएको छ ।

मन्त्रालयले कर्मचारीलाई लैंगिक समानता, समावेशिता, मानवअधिकार र पेशागत नैतिकताको सम्मान गर्न निर्देशन दिएको छ । कार्यालयभित्र कुनै पनि प्रकारको विभेद, दुर्व्यवहार वा यौनजन्य उत्पीडन गर्न नहुने प्रावधान पनि राखिएको छ ।

आचारसंहिताको उल्लंघन गरे प्रचलित कानुनअनुसार विभागीय कारबाही हुने मन्त्रालयले जनाएको छ । साथै सबै कर्मचारीले आचारसंहिताको पालना गर्ने प्रतिबद्धतासहित हस्ताक्षर गर्नुपर्ने व्यवस्था गरिएको छ ।