समाचार

भ्रष्टाचार मुद्दामा थुनामा रहेका पूर्वमन्त्री गुप्तालाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश

५ जेठ, काठमाडौं । पोखरा लिचिबारी भ्रष्टाचार प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री राजकुमार गुप्तालाई सर्वोच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

मंगलबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले यसअघि विशेष अदालतले दिएको थुनामा पठाउने आदेश बदर गर्दै धरौटीमा छाड्न आदेश जारी गरेको हो । सर्वोच्च अदालत प्रशासनले वेबसाइटमार्फत आदेशबारे जानकारी सार्वजनिक गरे पनि विस्तृत लिखित आदेश भने आउन बाँकी रहेको जनाएको छ ।

यसअघि विशेष अदालतले १६ पुसमा गुप्ताविरुद्ध प्रस्तुत प्रमाणहरूलाई आधार मान्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । अदालतले उनको बयानभन्दा मुद्दासँग सम्बन्धित अन्य प्रमाणलाई विश्वसनीय ठहर गरेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठमाथि कास्कीका प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारीलाई कास्कीमै कायम राख्न ५३ लाख रुपैयाँ घुस लिएको आरोप लगाएको छ ।

यस्तै, भूमि आयोग कास्कीको अध्यक्षमा खमबहादुर पुनको नियुक्तिका लागि थप २५ लाख रुपैयाँ लेनदेन भएको आरोपसमेत लगाइएको छ । उक्त प्रकरणमा अख्तियारले कुल ७८ लाख रुपैयाँ बिगो मागदाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

घुस दिने पक्षका रूपमा उल्लेख गरिएका सुजन लामाविरुद्ध पनि समान बिगो मागदाबी सहित मुद्दा चलाइएको छ ।