राजनीति

एमालेमा नयाँ बहस : ‘६० नाघेका नेता पदमा नबसौं’

९ जेठ, काठमाडौं । नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टी रूपान्तरणलाई व्यवहारमा लागू गर्न ६० वर्ष नाघेका सबै नेताले पदबाट बिदा हुनुपर्ने धारणा राखेका छन् ।

शनिबार अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको एमाले केन्द्रीय सचिवालय बैठकमा बोल्दै भट्टले केवल ‘रूपान्तरण’ भन्ने नाराले मात्र पार्टी परिवर्तन सम्भव नहुने बताएका हुन् ।

उनले पार्टीलाई नयाँ पुस्ताको नेतृत्वमा लैजान वरिष्ठ नेताहरूले स्वेच्छिक रूपमा पद छाड्नुपर्ने सुझाव दिएका छन् ।

बैठकमा उनले भने, पार्टी रूपान्तरण नै गर्ने हो भने ६० वर्षमाथिका सबै नेताहरू पदमा नबसौं । त्यसो हुँदा पार्टी युवाको हातमा पुग्छ ।”

शुक्रबारदेखि जारी एमाले केन्द्रीय सचिवालय बैठकमा नेताहरूले पार्टीको भावी दिशा, नेतृत्व र संगठनात्मक विषयमा आ–आफ्ना धारणा राखिरहेका छन् । शुक्रबार पाँच उपाध्यक्षले धारणा राखेका थिए भने शनिबार महासचिव शंकर पोखरेलसहित तीन उपमहासचिव र पाँच सचिवले आफ्नो विचार प्रस्तुत गरेका छन् ।

बैठकमा उपमहासचिव योगेश भट्टराईले अध्यक्ष ओलीलाई मार्गप्रशस्त गर्न आग्रह गरेका थिए भने महासचिव पोखरेलले वर्तमान अवस्थामै पार्टी अघि बढ्न कठिन हुने संकेत गरेका छन् ।

यता उपाध्यक्ष रामबहादुर थापा र महेश बस्नेतले भने पार्टी संकटको अवस्थामा रहेको उल्लेख गर्दै वर्तमान नेतृत्वको रक्षा गर्नुपर्ने धारणा राखेका छन् ।