१४ जेठ, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले बकर ईद (ईद–उल–अज्हा) को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण मुस्लिम समुदायप्रति हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
शुभकामना सन्देश जारी गर्दै उनले नेपाल विविध जाति, भाषा, धर्म र संस्कृतिको साझा फूलबारी भएको उल्लेख गरेका छन् । विभिन्न समुदायबीचको आपसी सद्भाव, सहिष्णुता र सहअस्तित्वले नेपालको राष्ट्रिय एकता तथा लोकतान्त्रिक संस्कृतिलाई मजबुत बनाएको उनको भनाइ छ ।
आङदेम्बेले त्याग, बलिदान, करुणा, मानवता र ईश्वरप्रतिको समर्पणको सन्देश बोकेको बकर ईदले समाजमा प्रेम, भाइचारा, सहकार्य र सामाजिक न्यायको भावना अभिवृद्धि गर्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।
उनले यो पर्वले सम्पूर्ण नेपालीबीच पारस्परिक सम्मान, धार्मिक सहिष्णुता र सामाजिक एकताको भावना अझ सुदृढ बनाउँदै शान्त, समुन्नत र समावेशी नेपालको निर्माणमा ऊर्जा प्रदान गर्ने विश्वाससमेत व्यक्त गरेका छन् ।
शुभकामना सन्देशमा उनले सम्पूर्ण नेपालीको सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि तथा नयाँ आशा र उत्साहको कामना गरेका छन् ।





