१५ जेठ, काठमाडौं । गणतन्त्र दिवसको अवसरमा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् ।
शुभकामना सन्देश जारी गर्दै उनले नेपालको लोकतान्त्रिक आन्दोलन, नागरिक अधिकार र जनसत्ताको स्थापनाका लागि भएका ऐतिहासिक संघर्षहरूमा जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात–अज्ञात वीर शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै परिवर्तनका लागि संघर्षरत नागरिक, राजनीतिक नेतृत्व, घाइते तथा बेपत्ता योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गरेका छन् ।
आङदेम्बेले वि.सं. २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिएको दिन नेपाली इतिहासको महत्वपूर्ण मोड भएको उल्लेख गरेका छन् । उनले गणतन्त्र नेपाली जनताको लामो संघर्ष, त्याग, बलिदान र लोकतान्त्रिक चेतनाको परिणामस्वरूप स्थापित ऐतिहासिक उपलब्धि भएको बताएका छन् ।
उनले गणतन्त्रले नेपाली जनतालाई राज्यको वास्तविक मालिक बनाएको उल्लेख गर्दै समावेशिता, समानता, सामाजिक न्याय र नागरिक स्वतन्त्रताको आधार यही व्यवस्थाले सुनिश्चित गरेको बताएका छन् ।
सन्देशमा उनले गणतन्त्र नेपाली जनताको सार्वभौम अधिकारको प्रतीक भएको उल्लेख गर्दै लोकतान्त्रिक प्रणालीभित्रै रहेर सुधार, सुशासन, आर्थिक समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् ।
अन्त्यमा उनले गणतन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।






