काठमाडौं, जेठ १६ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटसँग सम्बन्धित आर्थिक विधेयक आफ्नो वेबसाइटबाट हटाएको छ।
शुक्रबार अर्थमन्त्रीले बजेट प्रस्तुत गरेलगत्तै मन्त्रालयले आर्थिक विधेयक वेबसाइटमा सार्वजनिक गरेको थियो। तर शनिबार दिउँसो उक्त दस्तावेज वेबसाइटबाट हटाइएको पाइएको छ।
आर्थिक विधेयकमा करसम्बन्धी कानुन संशोधन तथा विभिन्न करका दर र व्यवस्थासम्बन्धी प्रावधान समावेश हुने गर्छन्। बजेट कार्यान्वयनसँग प्रत्यक्ष सम्बन्धित मानिने यो दस्तावेज हटाइएपछि विभिन्न प्रश्न उठ्न थालेका छन्।
यस विषयमा प्रतिक्रिया दिँदै अर्थ सचिव घनश्याम उपाध्यायले आर्थिक विधेयक वेबसाइटबाट हटाइएको बारे आफूलाई जानकारी नभएको बताएका छन्।
यसैबीच सरकारले आगामी आर्थिक वर्षका लागि घोषणा गरेका विभिन्न कर नीति र व्यवस्थाबारे सार्वजनिक तथा राजनीतिक वृत्तमा बहस सुरु भएको छ। आर्थिक विधेयक हटाइएको विषयले उक्त बहसलाई थप चासोको केन्द्रमा ल्याएको छ।





