१७ जेठ, काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल ले प्रयोग गरेका केही शब्द संसदीय रेकर्डबाट हटाउन माग गरेको छ।
एमालेका प्रमुख सचेतक ऐनबहादुर महर ले सभामुखले प्रतिनिधिसभा नियमावलीको गलत व्याख्या गरेको आरोप लगाउँदै उक्त अभिव्यक्ति रेकर्डबाट हटाउन आग्रह गरेका हुन्।
आइतबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर प्रक्रियासम्बन्धी विषयमा सभामुखले गरेको व्याख्या नियमावली विपरीत रहेको एमालेको दाबी छ।
प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरका क्रममा प्रश्न सोध्न तीन दिन अगावै प्रश्न बुझाउनुपर्ने वा नपर्ने विषयमा सभामुख र विपक्षी सांसदबीच मतभेद देखिएको थियो।
सभामुखको व्याख्यालाई लिएर एमालेले औपचारिक नियमापत्ति गर्दै संसदीय रेकर्ड संशोधनको माग गरेको हो।





