२२ जेठ, काठमाडौं । एक सचिवलाई प्रहरीले पक्राउ गरेको ७ घण्टापछि छाडेको छ।
बिहीबार अपराह्न पक्राउ परेका उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्कर मोबाइल फोनको अनुचित प्रयोग नगर्ने शर्तमा राति नै प्रहरीले रिहा गरेको हो ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कपनस्थित घरबाट पक्राउ गरेको थियो । प्रहरी हिरासतमा ७ घण्टा राखेर सोधपुछपछि रिहा भएका हुन् ।
प्रहरी स्रोतका अनुसार कर्मचारीको पदीय मर्यादाविपरीत उच्च पदस्थ व्यक्तिलाई अमर्यादित भाषामा एसएमएस गरेका कारण सोधपुछका लागि प्रहरी कार्यालय लगिएको थियो ।
उनलाई पत्नी आभा श्रेष्ठको जिम्मा जमानीमा छोडिएको अनुसन्धान कार्यालय स्रोतले जनाएको छ । पत्नी श्रेष्ठ पनि नेपाल सरकारकी सहसचिव हुन् ।
पुष्करले प्रधानमन्त्री बालेन्द्र शाहको समय माग्दा नपाएपछि उनको निजी नम्बरमा म्यासेज लेखेका थिए । लेखिएको भाषा कर्मचारीको मर्यादाविपरीत भएको प्रहरी स्रोतले जनायो ।





