२२ जेठ, काठमाडौं । काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रमा शनिबार चार घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार जेठ २३ गते बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म स्युचाटार र टेकु सबस्टेशन अन्तर्गत कुलेश्वर, कीर्तिपुर, रत्नपार्क र पुल्चोक वितरण केन्द्रमार्फत आपूर्ति हुँदै आएका करिब ९८ स्थानमा बत्ती जानेछ ।
प्राधिकरणले १३२ के.भी. प्रसारण कन्डक्टर अपग्रेडिङ आयोजना अन्तर्गत स्युचाटार सबस्टेशनको बस सटडाउन गरी मर्मत तथा स्तरोन्नतिको काम गर्नुपर्ने भएकाले विद्युत् आपूर्ति बन्द गर्न लागिएको जनाएको छ ।
कुलेश्वर वितरण केन्द्रका ५३ स्थान, कीर्तिपुरका ११, रत्नपार्कका २० र पुल्चोकका १४ स्थान प्रभावित हुने छन् ।
उक्त अवधिमा उपत्यकाका अन्य सबस्टेशनबाट आपूर्ति हुने प्रणालीमा समेत आंशिक असर पर्न सक्ने प्राधिकरणले जनाएको छ । मौसम प्रतिकूल भएमा कामको समय हेरफेर हुन सक्ने पनि उल्लेख गरिएको छ ।
प्राधिकरणले निर्धारित समयभित्र काम सम्पन्न गर्ने प्रयास रहने भन्दै विद्युत् अवरुद्ध हुँदा ग्राहकलाई पर्न जाने असुविधाप्रति क्षमाप्रार्थी रहेको जनाएको छ ।







