ब्रेकिङ न्युज

ओलीका सबैभन्दा विश्वासपात्रमाथि अख्तियारको नजर किन पर्यो ?

२४ जेठ, काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी सम्पत्ति आर्जन गरेको आशंकामा अनुसन्धान थालेको छ।

अख्तियारले गत साता बज्राचार्यलाई आयोगमा बोलाएर सम्पत्ति विवरण फारम भराएको स्रोतले जनाएको छ। बज्राचार्यले आफूले सम्पत्ति विवरण बुझाएको स्वीकार गरे पनि अनुसन्धानबारे थप टिप्पणी गर्न चाहेनन्।

एमाले स्रोतका अनुसार बज्राचार्यले आफूविरुद्ध सुरु भएको अनुसन्धानबारे अध्यक्ष ओलीलाई जानकारी गराइसकेका छन्। अनुसन्धानको विषयलाई लिएर एमालेभित्र अनौपचारिक छलफलसमेत भएको बताइएको छ।

बज्राचार्यमाथि अनुसन्धान अघि बढ्नुको एउटा आधार नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोपी केशव दुलालले दिएको बयानलाई मानिएको छ। दुलालले बयानका क्रममा बज्राचार्यलाई एक करोड रुपैयाँ दिएको दाबी गरेका थिए। बज्राचार्यले भने यसअघि नै उक्त आरोप अस्वीकार गर्दै आएका छन्।

स्रोतका अनुसार प्रहरीले तीन वर्षअघि नै नक्कली भुटानी शरणार्थी प्रकरणसँग सम्बन्धित केही फाइल अख्तियारमा पठाएको थियो। त्यतिबेला अनुसन्धान अघि नबढे पनि अहिले बज्राचार्यको चलअचल सम्पत्ति र आयस्रोतबारे थप छानबिन सुरु गरिएको बताइएको छ।

ओलीका निकट सहयोगी मानिने बज्राचार्य दुई दशकभन्दा बढी समयदेखि उनको सचिवालयमा कार्यरत छन्। ओली प्रधानमन्त्री हुँदा हरेक पटक उनी प्रमुख स्वकीय सचिवको भूमिकामा रहेका थिए।