२६ जेठ, काठमाडौं । नेपाली कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले विभिन्न निर्णय गरेको छ ।
नेपाली कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठक महामन्त्री एवं संयोजक प्रदीप पौडेलको अध्यक्षता एवं सभापति गगनकुमार थापाको समुउपस्थिति र उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री गुरुराज घिमिरे लगायत पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको उपस्थितिमा नेपाली कांग्रेस केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बी.पी नगर, ललितपुरको बैठकले क्रियाशील सदस्यता अद्यावधिक तथा नयाँ क्रियाशील सदस्यता वितरण सम्बन्धमा देहाय बमोजिमका निर्णयहरू गरेको छः
नेपाली कांग्रेसको डिजिटल प्रणालीमा जेठ २५ गते ५ः०० बजे सम्म अद्यावधिक गर्न योग्य ७ लाख ८२ हजार २ सय ९ क्रियाशील सदस्यमध्ये ४ लाख १७ हजार ७ सय ५३ जनाले एनसिअाइडी प्राप्त गरिसकेको र ९८ हजार १ सय ४३ जनाले स्वयं अद्यावधिक फारम पेश गरी अद्यावधिक प्रकृयामा रहेको जानकारी गराएकाे छ।
क. विद्यमान क्रियाशील सदस्यता अद्यावधिक सम्वन्धमाः
१. नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने कार्यका लागि थप गरिएको मिति २०८३ जेठ २८ गतेसम्मको समयसीमालाई नै अन्तिम म्याद कायम गरिएको पुनः स्मरण गराइन्छ ।
२. आगामी १५औं महाधिवेशनलाई पूर्णतः प्रविधिमा आधारित बनाइनेछ र नेपाली कांग्रेसको डिजिटल प्रणालीमार्फत अद्यावधिक गरेका पार्टी सदस्यहरूको विशिष्ट पहिचान सृजना गरी पार्टीका प्रत्येक क्रियाशील सदस्यलाई उपलब्ध गराइने छ । महाधिवेशनमा सहभागी हुन क्रियाशील सदस्यले प्राप्त गरेको नै प्रमुख आधार हुने भएकोले नेपाली कांग्रेसका सबै क्रियाशील सदस्यहरुले अनिवार्य रुपमा क्रियाशील सदस्यता अद्यावधिक गर्न अनुरोध गरिन्छ ।
३. क्रियाशील सदस्यता अद्यावधिक प्रक्रियामा कुनै प्राविधिक समस्या भएमा सहजीकरणका लागि पार्टीको आधिकारिक वेबसाइट www.dashboard.nepalicongress.org मा उपलब्ध गराइएको सम्पर्क नम्बर ९७०१२५५५५५ मा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।
४. नेपाली कांग्रेसको क्रियाशील सदस्यता रीतपूर्वक अद्यावधिक गर्न चाहने कुनै पनि योग्य सदस्यको सदस्यता अद्यावधिक प्रक्रियालाई अद्यावधिक गर्नबाट अवरुद्ध वा वञ्चित नगरिने कुराको पूर्णरुपमा सुनिश्चितता गर्ने र विधान बमोजिम क्रियाशील सदस्यता अद्यावधिक गर्ने प्रकृयामा कुनै तहबाट अवरोध भएमा केन्द्रीय कार्यालयमा सिधै सम्पर्क गरी अद्यावधिक गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
५. पार्टीको अनुशासन समितिको कारबाहीमा परेका, नेपाली कांग्रेस परित्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गरेका वा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध कुनै पनि पदमा बागी उम्मेदवारी दिएका निजका प्रस्तावकर समर्थक तथा अन्य पार्टीको उमेदवारको प्रस्तावकरसमर्थक र प्रचारक भएका व्यक्तिहरूको सन्दर्भमा, प्राप्त प्रमाणका आधारमा निजको सदस्यता केन्द्रीय अभिलेखबाट हटाइने छ ।
६. आफ्नो क्रियाशील सदस्यता अन्य कसैले अनाधिकृतरुपमा अद्यावधिक गरेको जानकारी प्राप्त भएमा सो को प्रमाण सहित केन्द्रीय कार्यालयमा जानकारी दिन सक्ने व्यवस्था मिलाइएको छ र प्राप्त जानकारीका आधारमा छानवीन गरी त्यस्तो क्रियाशील सदस्यता अद्यावधिक वदर गरिने छ ।
७. नेपाली कांग्रेस केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरु, प्रदेश कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, जिल्ला, क्षेत्र, प्रदेश सभा क्षेत्र, पालिका तथा वडा समितिका पदाधिकारी तथा सदस्यहरु, भातृ तथा सुवेच्छुक संस्थाका पदाधिकारीहरु, नेपाली कांग्रेसको क्रियाशील सदस्य रहेका संघिय संसदका सबै सदस्यहरु, प्रदेशका मुख्यमन्त्री, मन्त्री तथा प्रदेश सभा सदस्यहरु, स्थानीय तहका जनप्रतिनिधिहरुले जेष्ठ २७ गते भित्र आफ्नो क्रियाशील सदस्यता अनिवार्यरुपमा अद्यावधिक गर्न र आफ्नो क्षेत्रभित्रका पार्टीका सबै तहलाइ सक्रिय गराइ अद्यावधिक प्रकृयामा सहजीकरण गर्न गराउन निर्देशन गरिन्छ ।
८. अनलाइन प्रणालीमार्फत क्रियाशील सदस्यता अद्यावधिक गर्ने कार्यमा प्राविधिक कठिनाइ उत्पन्न भई अद्यावधिक प्रक्रिया सुचारु हुन नसकेका वा निरन्तरता पाउन नसकेका हिमाली तथा उच्च पहाडी जिल्लाहरूको हकमा सम्बन्धित जिल्लाबाट तहगत सिफारिस सहित तोकिएको विवरण मगाई सोही आधारमा क्रियाशील सदस्यता अद्यावधिक गरिदिने व्यवस्थालाई यस बैठकबाट पुनः स्मरण गराउँदै सोहीअनुरूप कार्य गर्न गराउन निर्देशित गरिन्छ ।
(ख) नयाँ क्रियाशील सदस्यता सम्बन्धमास्
१. नेपाली कांग्रेसको विधानमा भएको व्यवस्था र प्रक्रियाबमोजिम योग्यता पुगेका कुनै पनि नेपाली नागरिकलाई नयाँ क्रियाशील सदस्यता उपलब्ध गराउने कार्यलाई निर्वाध रूपमा अघि बढाउन पार्टीका सबै तहलाई निर्देशन गरिन्छ ।
२. नयाँ क्रियाशील सदस्यता वितरण गर्दा पार्टी विधानले तोकेको विधि र प्रक्रिया बमोजिम नेपाली कांग्रेसको आधिकारिक वेवसाइट मार्फत रीतपूर्वक परेका अनलाइन फारम वडा तहबाट तहगत सिफारिस हुँदै प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिबाट क्रियाशील सदस्यता स्वीकृत हुनेछ । यस कार्यलाई सहज र नियमित रूपमा सिफारिस तथा स्वीकृत गर्न सम्वन्धित तहलाई निर्देशन गरिन्छ ।
जय नेपाल !





