२९ जेठ, कैलाली । कैलालीको गोदावरी नगरपालिकास्थित गोदावरी खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ । अर्की महिला बेपत्ता भएकी छन्।
आज बिहान करिब ६स्४० बजे पहाडी क्षेत्रमा परेको अविरल वर्षापछि आएको बाढीले गोदावरी नगरपालिका–४ स्थित गोदावरी खोलामा दुई महिलालाई बगाएको थियो ।
खोज तथा उद्धारका क्रममा गोदावरी नगरपालिका–४ निवासी जीवन धमलाकी श्रीमती ५५ वर्षीया महेश्वरी धमला गोदावरी खोलाको मसानघाट नजिक मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
त्यसैगरी सोही स्थानकी ४० वर्षीया कल्पना साउद भने बाढीले बगाएर बेपत्ता छिन् । उनको खोजी कार्य जारी रहेको छ।
प्रहरीका अनुसार महेश्वरी धमला र कल्पना साउद शुक्रबार बिहान करिब ६ बजे जंगलमा च्याउ टिप्न घरबाट निस्किएका थिए। सोही क्रममा खोलामा आएको बाढीले उनीहरूलाई बगाएको हुन सक्ने प्रहरीले जनाएको छ ।
अस्थायी प्रहरी पोस्ट गोदावरी, इलाका प्रहरी कार्यालय मालाखेती तथा अन्य सुरक्षा निकायका टोलीहरू बेपत्ता साउदको खोजी तथा उद्धारमा परिचालित छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





