३१ जेठ, विराटनगर । नेपाली कांग्रेसका नेता शेखर कोइराला ले पार्टी कुनै पनि हालतमा नफुट्ने स्पष्ट गर्दै संगठनलाई एकढिक्का बनाएर अघि बढाइने बताएका छन्।
विराटनगरमा आयोजित संस्थापन इतर पक्षको भेलालाई सम्बोधन गर्दै उनले पार्टीभित्र निरंकुश प्रवृत्तिका संकेत देखिन थालेको भन्दै गम्भीर आपत्ति जनाए। उनका अनुसार देशभरिका वडा सभापतिहरूलाई मौखिक रूपमा हटाउने जस्ता गतिविधि लोकतान्त्रिक मूल्यविपरीत छन्।
कोइरालाले नेपाली कांग्रेस लोकतन्त्र स्थापना र निरंकुशताको अन्त्यका लागि बनेको पार्टी भएकाले यसको मूल आदर्शविपरीत कुनै पनि अभ्यास स्वीकार्य नहुने बताए।
पार्टीभित्रको विवाद समाधानका लागि आफूले गगन थापा सँग छलफल गरेर अघि सारेको ५ बुँदे प्रस्तावबारे पनि उनले जानकारी दिए। ती प्रस्तावमा नेतृत्व सकारात्मक भए पनि कार्यान्वयनमा ढिलाइ भइरहेको उनको आरोप छ।
उनले प्रस्ताव कार्यान्वयनमा भइरहेको ढिलाइप्रति प्रश्न उठाउँदै पार्टीभित्र सहमति र सहकार्य कमजोर हुन नहुने बताए।
कांग्रेस कमजोर हुँदा देशको लोकतन्त्र, सार्वभौमिकता र राष्ट्रियता समेत प्रभावित हुने भन्दै उनले एकताको विकल्प नरहेको धारणा राखे।
सामाजिक सञ्जालका प्रतिक्रियामा नअल्झिन कार्यकर्तालाई आग्रह गर्दै कोइरालाले संगठन सुदृढ बनाउन तल्लो तहदेखि एकताको सन्देश फैलाउनुपर्ने बताए।
अन्त्यमा उनले पार्टी फुट्न नदिने प्रतिबद्धता दोहोर्याउँदै संगठन मजबुत बनाउन सबैलाई एकजुट हुन आह्वान गरे





