समाचार

भाइरल भिडियोपछि वन कर्मचारीमाथि एक्सन, १० जना नियन्त्रणमा

३१ जेठ, धनगढी । कैलालीको गोदावरी नगरपालिका–४ स्थित गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा टेम्पो भिरमा खसालिएको घटनापछि प्रहरीले १० जना वन कर्मचारीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले घटनामा संलग्न भएको आशंकामा वन कर्मचारीहरूलाई नियन्त्रणमा लिई सोधपुछ गरिरहेको जनाएको छ। घटनामा प्रत्यक्ष संलग्न व्यक्तिहरूको पहिचान गर्ने काम जारी रहेको प्रहरीले जानकारी दिएको छ।

शुक्रबार वन अतिक्रमण हटाउने क्रममा धनादेवी धामीले खुद्रा पसलका रूपमा प्रयोग गर्दै आएको टेम्पो भिरमा खसालेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटना व्यापक चर्चामा आएको थियो।

यता, डिभिजन वन कार्यालय धनगढीले भने टेम्पो कवाड अवस्थामा रहेको र सडक छेउमा छाप्रोका रूपमा प्रयोग गरिएको दाबी गरेको छ। कार्यालयका अनुसार पटक–पटक हटाउन आग्रह गर्दा अटेर गरेपछि बल प्रयोग गरेर हटाउने क्रममा भिरालो भूगोलका कारण सन्तुलन बिग्रिएर टेम्पो भिरमा खसेको हो।

घटनाको वास्तविकता पत्ता लगाउन प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।