१ असार, काठमाडौं । यस वर्ष नेपालमा मनसुनको आगमन सामान्यभन्दा केही दिन ढिलो हुने देखिएको छ। जल तथा मौसम विज्ञान विभागले भू–उपग्रहबाट प्राप्त तथ्यांक र मौसम पूर्वानुमानको विश्लेषणका आधारमा मनसुन अझै केही दिनपछि मात्र नेपाल भित्रिने जनाएको हो।
सामान्यतया नेपालमा जुन १३ तारिखतिर मनसुन प्रवेश गर्ने भए पनि यस वर्ष हालसम्म मनसुनी प्रणाली भित्रिन सकेको छैन। विभागका अनुसार प्रशान्त महासागरमा विकसित भएको क्रमशः बलियो बन्दै गएकाले यसको प्रभाव नेपालसम्म परेको छ।
विभागले एलनिनोका कारण मनसुन ढिलो मात्र होइन, यस वर्ष वर्षा पनि अपेक्षाकृत कमजोर हुन सक्ने सम्भावना रहेको जनाएको छ। विगतका वर्षहरूमा पनि एलनिनो सक्रिय हुँदा मनसुन ढिलो भित्रिएको र वर्षामा असर परेको तथ्यांक रहेको विभागको भनाइ छ।
यद्यपि, हाल पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जनसहित मध्यम वर्षा भइरहेको छ।
विभागले मनसुनी प्रणालीको निरन्तर निगरानी भइरहेको उल्लेख गर्दै मौसमसम्बन्धी अद्यावधिक जानकारी नियमित रूपमा सार्वजनिक गरिने जनाएको छ।




