समाचार

राप्रपाको महाधिवेशन मंसिर २६–२८ मा, निर्वाचन कार्यतालिका पारित

४ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गर्दै त्यससम्बन्धी कार्यतालिका पारित गरेको छ।

बिहीबार धुम्बाराहीस्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महाधिवेशनको मिति तय गर्नुका साथै निर्वाचन निर्देशिका र नियमावलीलाई परिमार्जनसहित अनुमोदन गरेको हो।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनका अनुसार कार्यसम्पादन समितिबाट पारित भएका प्रस्तावहरू शुक्रबारदेखि सुरु हुने केन्द्रीय समिति बैठकमा प्रस्तुत गरिनेछन्। केन्द्रीय समितिले ती प्रस्तावमाथि छलफल गरी अन्तिम निर्णय गर्नेछ।

महाधिवेशनको तयारीलाई व्यवस्थित बनाउन आगामी भदौ मसान्तभित्र सबै जिल्ला अधिवेशन सम्पन्न गर्ने र असोज मसान्तसम्म सक्रिय सदस्यता वितरणको काम सक्ने कार्ययोजना पनि बैठकले अघि सारेको छ।

राप्रपाले संगठन विस्तार, सदस्यता अद्यावधिक र महाधिवेशनको तयारीलाई एकसाथ अघि बढाउने रणनीतिअनुसार आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ।