306 Shares ११ असार, धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका क्रममा आज बिहान ग्रेनेड विस्फोट हुँदा एक सैनिकको मृत्यु भएको छ । अर्का एक जना सह–सेनानी गम्भीर घाइते भएका छन् ।ब्यारेकभित्र तालिम चलिरहेका बेला अकस्मात ग्रेनेड विस्फोट भएको थियो । विस्फोटमा घाइते भएका दुवै सैनिकलाई तत्काल उपचारका लागि लम्कीस्थित लालरत्न अस्पताल लगिएको थियो । उपचारकै क्रममा हुद्दा हिमालबिक्रम बिष्टको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । घाइते सह–सेनानी हेमराज जोशीको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाउने तयारी भइरहेको सैनिक स्रोतले जानकारी दिएको छ । विस्फोटको कारण नेपाली सेनाले औपचारिक रूपमा कुनै जानकारी सार्वजनिक गरेको छैन । घटना विस्तृत अनुसन्धान सुरु गरिएको बताइएको छ । घटनापछि गोरङ्गे ब्यारेक क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ भने सेनाले विस्फोटको वास्तविक कारण पत्ता लगाउन आवश्यक छानबिन अघि बढाएको जनाएको छ ।